सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए।
उनले भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए।
‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो। समय लम्बिँदा बाहिर के हो? के हो? भन्ने थियो। हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणा सभा गर्ने निर्णय गरेका छौं। भ्रष्टाचारविरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ’, महासचिव चन्दले भने।
बैठकपछि बोल्दै नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले घोषणा सभा ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने बताए।
उनले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भुमिकाको बारेमा छलफल भएको पनि बताए।
उनले प्रदेश घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताए।
बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रूपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भएको छ।
मोर्चामा सत्तारूढ नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन्।







