images
images

हेडक्वार्टर तानिए भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरिरहेका दुई एसएसपी

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन्।

गृह मन्त्रालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेको हो।

भूपेन्द्रबहादुर खत्रीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा सुर्खेतबाट जिल्ला प्रहरी परिसर काठमाडौंमा र सोमेन्द्रसिंह राठौरलाई प्रधान कार्यालय कार्य निर्देशनालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयना सरूवा गरिएको मन्त्रालयले जनाएको छ।

दुई एसएसपी काज सरूवा भएको पत्र प्रहरी प्रधानलाई प्राप्त भएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायत ले  जानकारी दिए।

उनका अनुसार एसएसपी कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालय र एसएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा जिम्मेवारी तोकिएको छ। सात महिनाअघि (पुस २८ गते) केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र कार्की जिल्ला प्रहरी परिसरमा सरूवा भएर आएका थिए।

त्यहाँका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पठाइएको डिआइजी कडायतले जानकारी दिए।

यसअघि शुक्रबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी हेडक्वार्टर सरूवा गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौं समन्वय गरी अनुसन्धान अगाडि बढाएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई एसएसपी केसी नेतृत्वको टोलीले उनकै निवास मैजुबहालमा पुगेर पक्राउ गरेको थियो।

पछिल्लो शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले यसका प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीमाथि फेरि बयान लिने तयारी गरेको थियो।

यसका लागि दोस्रो चरणको अनुसन्धान सुरू गर्न उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ज्ञवालीले निर्देशन समेत दिइसकेका थिए।

पछिल्ला केही सातामा लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौं लगायत जिल्लाबाट आएका १८ जनाले दुलाल, भण्डारी र रामशरण केसीविरूद्ध तीनवटा किटानी जाहेरी दिएका छन्। आफूलाई भुटानी शरणार्थी बनाइदिने भन्दै उनीहरूले एक करोड ८५ लाख रूपैयाँ ठगेको जाहेरीमा उल्लेख छ।

यी जाहेरी लिएर अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाएको थियो। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा र अन्य नेताहरूले एआइजी ज्ञवाली र एसएसपी केसीलाई हटाउन दबाब दिएका थिए।

लगत्तै एआइजी ज्ञवाली जिम्मेवारीबाट हटाइएका थिए भने उनी हटाइएको तीन दिनमै एसएसपी केसी र कार्कीको पनि जिम्मेवारी खोसिएको हो।

images
images
हुलाकी पत्र
images
SKIP THIS