
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्।
गौरा पर्वको अवसरमा काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए।
उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए। उनले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए।
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए।
उनले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए।
प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए।
उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे।
उनले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताए। उनले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे।