
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रूपमा विकास गरिने बताएकी छन् । भरतपुर -९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भइरहेको जानकारी दिएकी हुन् ।
बस पार्क हरियाली बनाउन वृक्षारोपण, सरसफाइ, मर्मत सम्भारलगायतका कार्य भइरहेको प्रमुख दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गरिन् ।
बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एक साथ अगाडि बढाइएको उनको भनाई थियो ।नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाइ गर्नुपर्ने दाहालको जिकिर थियो ।
जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रूपमा परिचित गराउन सकिने धारणा पनि राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विकास संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।