
काठमाडौँ – नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने कार्यमा जुट्न अपील गरेका हुन्।
सामाजिक सद्भाव भड्काउने गतविधि कसैको हितमा नहुने देउवाको भनाइ छ। उनले भनेका छन्, ‘नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन। यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।’
उनले कसैले पनि अरुको संस्कृति र परम्परामा दख्खल पुर्याउने काम गर्न नहुने बताएका छन्। ‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन। साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन,’ देउवाले जारी गरेको अपीलमा उल्लेख छ।
केही दिनअघि धरानमा गोरु काटेर खाएको विषयमा विवाद बढ्दै गएपछि सुनसरी प्रशासनले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी गरेको छ।
धरानमा पार्टी प्यालेस बनाउने भनेर झुक्याएर मन्दिरअगाडि चर्च बनाएको विषय सेलाउन नपाउँदै गोरु काटेको कुरा सार्वजनिक भएपछि विवाद बढेको थियो।