
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताएका छन् । एमालेको कोशी प्रदेश कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने र नराेकाे बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले भने- ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’ भण्डारीले पार्टीमा सक्रिय हुने चाहाना देखाए कसैले निषेध नगर्ने बताउँदै भने- ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठिक छ । उहाँ आउँछु त भन्नुपर्यो नी । उहाँलाई सधैँ वेलकम छ ।’
पार्टीभित्रका नेताहरुले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको बताउँदै पार्टीको पूर्वउपाध्यक्ष समेत भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको बताए । उनले भने- ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन ।’