
काठमाडौं । एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल अमेरिका पुगेकाे खुलासा भएको छ । ६० केजी सुन तस्करीमा संलग्नता देखिए पछि उनी देश छाडेर हिँडेको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को उच्च श्रोतका अनुसार खनाल भागेर अमेरिका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीले पक्राउको तयारी गरेको सूचना पाउपछि खनाल रातारात भागेको बताइएकाे छ । प्रहरी उच्च नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खनाल भागेर अमेरिका पुगेको जानकारी गराएका छन् ।
प्रहरीको सीआईबीले केही दिनअघि सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को पनि सहयोग मागेकाे थियाे । सीआईबीले इन्टरपोल सँग मागेकाे सहयाेगले पनि खनाल देश छाडेर भागेेकाे पुष्टि भएकाे छ ।
‘पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि उहाँ रातारात भागेर अमेरिका पुग्नुभएछ’, प्रहरी नेतृत्वले गरेको रिपोर्टिङ उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यले बताए । खनालको ६० केजी सुन तस्करीका नाइके चिनियाँ मुलुका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको सीआईबी श्रोतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तस्करीमा खनाल संलग्न रहेको संकेत गरेका थिए । प्रहरीका केही पूर्वप्रमुखको दावासँग कुराकानी भएको सूचाना आएको र यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस् भनेर लामिछानेले बैठकमा भनेका थिए ।