
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै घटनामा राज्यले निष्पक्ष रुपले छानबिन गरिरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद असिम साहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी प्रकरणलगायतका सबै घटनाहरुमा दबाबरहित र निष्पक्ष रुपमा छानबिन भइरहेको बताएका हुन्।
उनले आफूले सरकारको नेतृत्व गरेसँगै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, व्यावसायिक र जवाफदेही बनाएको बताए। उनले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गर्न सरकारले विभिन्न नीतिगत, कानूनी तथा संस्थागत सुधारलाई अघि बढाएको पनि दाबी गरे।
उनले भने, ‘सबै किसिमका भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। भ्रष्टाचारको मामलामा यो आफ्नो यो पराया भनेर सरकारले कसैलाई विभेद गरेको छैन। कानुनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात गरेको छ।’