
११ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको नागरिकता पनि फेला परेको हो ।
ब्यूरो स्रोतका अनुसार, पक्राउ परेका बेला उनीसँग भारतको आधार कार्ड भेटिएको थियो । उनले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको फेला परेको थियो ।
हालै उनको काभ्रेबाट जारी भएको नेपाली नागरिकता पनि फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । ‘त्यसको आधारमा उनले राहदानी बनाएको पनि फेला परेको छ’, ब्यूरो स्रोतले भन्यो, ‘उनी खासमा चिनियाँ नागरिक हुन्, उनको चिनियाँ सरकारी कागजात पनि भेटिएको छ ।’
अरु थप ३ चिनियाँ नागरिकले पनि लिएको नागरिकताबारे पनि सबै विवरण प्रशासनले उपलब्ध नगराएको स्रोतले बतायो । स्रोतका अनुसार, केही विवरण प्रशासनबाटै गायब छन् ।
प्रकरणमा हालसम्म चिनियाँ नागरिक सउतेन भनिने डिङ सेग फा, अली र ली समेत भनिने ली वेन टी सुङ, स्टेप्स र रोजर पनि भनिने ली नेङकाई, एलेक्स भनिने याओ पुचेङ, भारतीय नागरिक टासी भनिने थुप्नेत छिरिङ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन् ।
उनीहरुको अन्तरदेशीय कनेक्सन फेला परेपछि प्रहरीले अनुसन्धानमा इन्टरपोल समेत सहयोग लिँदैछ । ब्यूरोका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने तयारी समेत भइरहेको छ ।