images
images

तयारी पोसाक उद्योगी चौधरीको अनुभवः ‘स्वदेशमै केही गर्न सकिन्छ’

भरतपुर –हातमा सीप भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् भरतपुर–२७ वनकट्टाका दीपक चौधरी। उनले तयारी पोसाक उद्योग सञ्चालन गरेर ४० जनालाई रोजगारी दिँदै आइरहेका छन्। साथीभाइ विदेश जाने लहर चलिरहेका बेला उनले भरतपुर २ क्षेत्रपुरमा ओम साइराम नेपाली तयारी पोसाक उद्योग सञ्चालन गरे।

“उद्योगमा सट, पाइन्ट, टिसर्ट, जिन्सको पाइन्ट बनाइने गरिएको छ। पहिला उद्योगमा पाँच छ प्रकारका कपडा बनाउने गर्थे”, उनले भने, “अहिले २५ देखि ३० प्रकारका कपडा बनाउने गरेको छु। उद्योगमा बनाएको कपडा हेटौँडा, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, भैरहवालगायतका सहरमा बिक्री गर्ने गरिएको छ।”

सानैदेखि कुनै पनि काममा आफै नेतृत्वदायी भूमिका खेल्न रुचाउने उनले ३७ वर्षको उमेरमा उद्योग खोल्नुभयो। साथीभाइसँग मिलेर उद्योग सञ्चालन गरेका चौधरी उद्योगको पनि निर्देशक छन्। उनले भने, “साथीभाइ सबै विदेश गए, मैले नेपालमा केही नयाँ गर्छु भन्ने सोच लिएर अगाडि बढेँ।” आफ्नो मेहनत र परिश्रमले दिनप्रतिदिन सफलताको सिढी चढेको उनको अनुभव छ।

विसं २०७२ कात्तिक २ गते स्थापना भएको उद्योगबाट सुरुवाती चरणमा सबै खर्च कटाएर एक लाख पचास हजार रुपैयाँ बचत हुन्थ्यो। अहिले सबै खर्च कटाएर तीन लाख रुपैयाँसम्म बचत हुने गरेको उनी बताउँछन्। कक्षा ८ मा पढ्दापढ्दै उनले घरको आम्दानीको स्रोत केही नभएपछि भारत गएर गार्मेन्टको काम गर्न थाले। भारतमा ६ वर्षसम्म काम गरेपछि काठमाडौँ आएर उनले चार वर्ष काम गरे। ‘१० वर्ष सिकेको सीप आफ्नै ठाउँमा आएर प्रयोग गर्दा सफलता मिल्दै गयो, उनले भने।’ “४० लाखबाट सुरु गरेको उनको उद्योगमा अहिले डेढ करोड लगानी भइसकेको छ।”

भारतमा काम गर्दादेखि नै नेपालमा गएर केही काम गर्छु भन्ने सोच बनाएको उनी बताउँछन्। अहिले उनको दैनिकी उद्योग व्यवस्थापन र सञ्चालनमा बित्ने गरेको छ। उनले उद्योग खोल्दा धेरै चुनौतीको सामना गर्नुपरेको उनी बताउँछन्।

‘उद्योग सञ्चालन गरिराख्दा धेरै चुनौती आए। कहिलेकाहीँ त पेसा छाडौँ कि जस्तो पनि भयो तर निरन्तरको कामले सफलता मिल्दै गयो’,उनले भने।’ “चार वर्षसम्म स्वदेशी बजार बुझेर, कस्तो सामान मान्छेले खोजी गरिरहेका छन् र कस्तो सामान बनाउँदा उपयुक्त हुन्छ भन्ने योजनामा समय खर्च गरेको उनले बताए।”

यसरी लामो समयसम्म बजार बुझ्दा आफैले उद्योग खोलेर चलाउन सक्छु भन्ने सोच आएपछि अगाडि बढेको विगतको स्मरण उनले गरे। “पुर्ख्र्यौली सम्पत्ति भए पनि आफँैले केही नयाँ गर्छु भन्ने सोचका साथ आफैँले ऋण लिएर उद्योगको सुरु गरेँ,उनले भने, “ऋण तिर्नुपर्ने भएकाले पनि मेहनत गर्न सिकायो।”

मानिसमा मेहनत र लगनशीलता भयो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने सुझाव उनले युवालाई दिएका छन्। उनले भने, “कोसिस गरे स्वदेशमा जे पनि गर्न सकिन्छ, विदेशीनु पर्दैन। तर मान्छेमा मेहनत र लगनशीलता हुनुपर्छ।”

images
images
हुलाकी पत्र
images
SKIP THIS