नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली भुमिको सम्बन्धमा पनि कुटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नपर्ने बताउनुभयो । प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताउनुभयो । उहाँले व्यापारको विषयमा पनि छलफल हुने बताउनुभयो । त्यस्तै, देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरु हुने बताउनुभयो ।
त्यस्तै, नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताउनु भयो । नेपालको चुच्चे नक्शाको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरुलाई सो कुराको बोध गराउने उहाँले बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्शाको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिनुभयो । उहाँले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।
शाहीले हङकङस्थित महावाणिज्य दुतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।