
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।
जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुवाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयलाई संस्मरणात्मक शैलीमा पुस्तकमा समेटिएको छ ।
२४० पेजको पुस्तकमा ५३ वटा खण्डमा जीवन उपयोगी विषयबस्तु समावेश गरिएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित पुस्तकले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउनसक्ने लेखकले विश्वास गरेका छन् ।
पुस्तकमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेशागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयबस्तु समेटिएका छन् । ‘जीवन्त सम्बन्ध पढ्दा कहिले म भावुक भएँ, कहिले सम्बन्धका आयाम केलाएँ, कहिले अश्रुपुरित (आँसुले पुरिएको) भएँ, कहिले आफ्नो अतीतमा पुगें,’ पुस्तकबारे वरिष्ठ कलाकार हरिवंश आचार्यले भनेका छन् ।
पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डाक्टर ओम फाउन्डेसनमार्फत् खर्च गरिने डा अनिलले जानकारी दिए ।
आजैदेखि अनलाइन बुकिङ खुला भएको पुस्तक असोज ५ गते शुक्रबार साँझबाट बजारमा उपलव्ध हुनेछ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैं उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यबस्था गरिएको छ ।
विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने डा ओम फाउन्डेसनले जनाएको छ ।
स्वस्थ जीवनशैली र जनचेतनाका लागि डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । ‘पुस्तकबाट एक रुपियाँ पनि प्रतिफल नलिने गरी लेखकले आफ्नो तन, मन र धनकोे लगानी गर्नुभएको छ, हरेक पाठकले गरेको लगानी सिधै असाहय वृद्धवृद्धाका निम्ति खर्च हुनेछ,’ फाउन्डेसनले भनेको छ ।
डा ओम फाउन्डेसनले प्रकाशन तथा समीक्षा पब्लिकेसन वितरक रहेको पुस्तकको मूल्य ६ सय रुपैया कायम गरिएको छ । हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्यागसहित विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ तोकिएको छ ।
डा अनिलले सामाजिक सञ्जालमार्फत दिने जनस्वास्थ्यसम्बन्धी चेतना र हेल्थ टिप्स् सर्वसाधारणमाझ लोकप्रिय छन् ।