images
images

नाका नखुल्दा गाउँ छाड्दै लप्चीवासी

कोरोनाकालमा बन्द भएको सीमा नखुलेपछि आर्थिक स्रोत जुटाउन गाउँ छाड्दै स्थानीय

दोलखा — चार वर्षदेखि बन्द चिनियाँ नाका खुल्ने संकेत नभएपछि बिगु गाउँपालिका–१ लप्चीका बासिन्दाले गाउँ छाड्न थालेका छन् । नाका नखुल्दा चीनसँग सीमा जोडिएको लप्चीका बासिन्दाको मुख्य आर्थिक स्रोत घिउ र याकका बाच्छा तिब्बती बजार ङ्यालममा लैजान पाएका छैनन् । मुख्य आयस्रोत गुमेपछि वैकल्पिक आम्दानीको खोजीमा स्थानीयले धमाधम गाउँ छाड्न थालेका हुन् ।

२०७२ को भूकम्पपछि केही समय बन्द भएको नाका कूटनीतिक पहलपछि पासको व्यवस्था गरेर सीमावर्ती बासिन्दालाई किनबेचका लागि आउजाउ खुला गरिएको थियो । कोरोना संक्रमणको सुरुवातसँगै ०७६ पुसदेखि पूर्ण रूपमा बन्द नाका अहिलेसम्म खुल्न सकेको छैन ।

अधिकांश स्थानीय राजधानी काठमाडौं पसिरहेका छन् भने अघिल्लो साता तातोपानी नाका खुलेपछि केही त्यतातिर लागेका छन् । पछिल्लो समय चीनसँगका अन्य नाका खुल्न थालेपछि याक, चौंरी चराएर बसे पनि लप्ची नाका खुलाउन कतैबाट पहल नभएपछि निराश बनेर गाउँ छाड्न थालेको स्थानीय तेम्बा शेर्पाले बताए । स्थानीयले घिउ र याक, चौंरीका बाच्छा तिब्बतको ङ्यालम, कुती, फलाक बजार लगेर बेच्दै आएका थिए । नाका बन्द भएर कारोबार नै हुन नपाउँदा आम्दानी ठप्प भएकाले नयाँ व्यवसाय खोज्दै गाउँ छाडिरहेको शेर्पाले बताए ।

सीमापारि जान नपाउँदा खाद्यान्न किन्न पनि दुई दिन हिँडेर लामाबगर पुग्नुपर्छ । लामबगरबाट भरियाबाट किलोको १ सय ४० रुपैयाँ ढुवानी भाडा तिर्नुपर्ने शेर्पा बताउँछन् । ‘ङ्यालम नटेकेको ४ वर्ष भइसक्यो, नाका नखुल्दा २ दिनसम्म हिँडेर अन्नपातका लागि लामाबगर झर्नु परिरहेको छ,’ उनले भने, ‘निकै कष्ट गरेर भए पनि अहिलेसम्म खाद्यान्न लिन आउने गरेका थियौं, वर्षौंसम्म आम्दानीको स्रोत नै बन्द भएपछि गाउँ छाड्नुको विकल्प छैन ।’

४८ परिवारका १ सय ५० जनाको बसोबास रहेको लप्चीमा ५ सयभन्दा बढी याक, चौंरी पालिएका छन् । हाल १७ परिवार याक, चौंरी रेखदेख गरेर बसेका छन् । स्थानीयको याक र चौंरी चरन क्षेत्र पनि चीनतर्फका खर्क हुन् । उनीहरूले याक, चौंरी चराउन चरन क्षेत्र प्रयोग गरेबापत प्रतिचौपाया वर्षमा ७ सय ५० ग्राम घिउ चीनको स्थानीय सरकारलाई बुझाउने गरेका थिए । नाका बन्द भएयता चिनियाँ चरन क्षेत्रमा याक, चौंरी लैजान नपाएको स्थानीय कर्मा वाइसर शेर्पाले बताए ।

‘सीमापार गरेर उतातर्फ याक, चौंरी प्रवेश गरिहाले चिनियाँ भूभागबाट लखेट्ने गरेका छन्,’ शेर्पाले भने, ‘याक, चौंरीका बाच्छा र घिउ बेचेर उपभोग्य वस्तु जोहो गर्ने हो, त्यो पनि ठप्प छ ।’ चिनियाँ बजारमा घिउ प्रतिकेजी १६ सय रुपैयाँमा बिक्री हुने गरेको थियो । हाल लप्चीमा स्थानीयसँग ६ हजार किलो हाराहारी घिउ घरमै थन्किएको उनले बताए ।

याक, चौंरीका लागि लामाबगरबाट बोकेर निकै महँगोमा नुन र ढुटोपिठो खुवाउनुपर्दा पाल्नसमेत समस्या भइरहेको स्थानीय बताउँछन् । भीर बाटोमा पहिरो छिचोल्दै हिँड्नुपर्ने भएकाले भरियालाई बोकाउनुको विकल्प नभएको लप्ची मेलारेप्पा गुम्बाका प्रमुख लामा चुनछिरिङ लामाले बताए । उनले ङ्यालम, फलाक र कुती जान नाका खुलाएर सहज गरिदिन सरकारसँग आग्रह गरे । ‘सरकारले छिमेकी देशसँग आग्रह गरेर नाका खुलाइदिए लप्चीको संकट टर्ने थियो,’ उनले भने, ‘आर्थिक संकटका कारण गाउँ छाड्नेको संख्या बढ्दो छ ।’

नाका खुलाइदिन परराष्ट्र मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको स्थानीय कर्मा वाइसर शेर्पाले बताए । ‘नाका खुलाएर सीमावासीको दैनिकी सहज बनाइदिन आग्रह गरेर परराष्ट्रमन्त्रीलाई पनि ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘कतैबाट सुनुवाइ नभएपछि गाउँ छाड्नुको विकल्प छैन ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला लप्ची नाकाको कुरा सुनाइदिन आग्रहसमेत गरेका छन् । लप्ची नाका खोल्न पहल गरिदिन गृह मन्त्रालयमार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए ।स्रोत :कान्तिपुुर

images
images
हुलाकी पत्र
images
SKIP THIS