
जनकपुरधाम – मिथिलाञ्चल क्षेत्रमा आज आस्था तथा निष्ठापूर्वक चौरचन पर्व मनाइँदै छ।
शुक्रबार जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरीलगायतका जिल्ला तथा सीमावर्ती क्षेत्र भारतको विहारको केही क्षेत्रमा चौरचन पर्व मनाइने गरिन्छ।
प्रत्येक वर्ष भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाइने चौरचन पर्वमा चन्द्रमालाई पूजा गरिन्छ। चन्द्रमालाई पूजा गरिने विधि नै चौठचन्द्र अथवा चौरचन हो।
शुक्रबार राति व्रत बसेकी व्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अघ्र्य दिएर यो पर्व मनाउँछन्।
यस पर्वको लागि व्रत बस्ने व्रतालु महिला दिनभर निराहार बस्छन्। साँझपख चन्द्रमा उदय हुनुअगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री माटोको भाँडामा सजाएर राखिन्छ।
चन्द्रमाको उदय भएपछि सर्वप्रथम व्रतालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्दछिन् र आफ्नो मनमा रहेका संकल्प र आराधनाको मनमनै स्मरण गर्दछिन्। त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्दछन्।
चौठचन्द्र पर्वको महत्त्व
पछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ। तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरीले बताए।
उनले भने, ‘यस पर्वमा कुनै तामझाम र देखावटीपन हुँदैन । माटोका भाँडा, फलफूल, पीठोबाट बनेको परिकार, दहीलगायतका आफ्नै घरआँगनका उत्पादनको प्रयोग हुन्छ। यसमा कुनै प्रकारको भेद्भाव वा तडकभडक पनि हुँदैन।’
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिसले अरु सबै देवी-देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिने भए पनि सूर्य र चन्द्रमालाई मात्र साक्षात् अनुभव गरेर दर्शन पूजा गर्ने हुँदा यो पर्वको महत्व अझ बढी महसुस गर्न सकिन्छ।
चौठचन्द्र पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलंक (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अर्घ्य दिएर चन्द्र-दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको पनि उनले जानकारी दिृए।
तराई-मधेसमा लोकभाषामा ‘ढेला चौथ’समेत भनिने यो व्रत गर्नाले झुटो कलङ्कको दोष निवारण हुने गरेका धार्मिक विश्वास पनि रहेको सुन्दर सदन धनुषाका बाबा नबल किशोरको भनाइ छ।
मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन्। इतिहासका ज्ञाता नबल किशोरका अनुसार श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ।
मणिको प्रसंग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको संघर्षसँग जोडिएको छ।