
काठमाडौं । आज बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारकोबारे गम्भीर समीक्षा गर्न माग राखेका छन् ।
केन्द्रीय सदस्यहरुले गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा भएपनि सरकारको नेतृत्व भने माओवादी अध्यक्ष दाहालले गरिरहेको बताए । कांग्रेसका केन्द्रीय सदस्य राजीब ढुंगानाले सरकार अहिले के गरिरहेको छ यसबारे समीक्षा गरिनपर्नेमा जोड दिनुभयो । ढुंगानाले महंगी दिन प्रतिदिन बढिरदा समेत सरकारले अनुगमन समेत नगरेको गुनासो गर्नुभयो ।
भ्रष्टाचारका एक दुई फाइल खोलिएपनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस नै नगरेको केन्द्रीय सदस्यहरुले बताएका छन् । शान्ति सुरक्षाको अवस्था ठिक नभएको र दिनदहाडै खुकुरी चल्दा समेत सरकार मौन रहेको केन्द्रीय सदस्यहरुले बताएका छन् । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नमात्र उपलब्धि मान्न नहुने प्रतिक्रिया दिनुभयो ।