
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले हालै रिगल भनिने योगराज ढकाललाई दिएको आममाफीका विषयमा आपत्ति प्रकट गर्दै पवित्र दिनलाई राज्यले अपवित्र बनाएको जिकिर गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले कानुनको अपव्याख्या र दुरुपयोग भएकाले सदनमा ल्याएर त्यसलाई सच्याउन पहल गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरेका छन्।
उनलाई सरकारसँग यसलाई सामान्य विषय सोचेर पन्छाउने काम नगर्न पनि चेतावनी दिएका छन्।
उनले संसदमा बिहीबार भने- ६७० मध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला। तर फेरि एकपटक संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधको दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ। बदनियताका साथ भएको निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ। बाञ्छनीय छ। यसको विरोध हुन्छ। हामी विरोध गर्दछौँ।’
सरकारले हत्यापछि जन्मकैद सजाय पाएका तरुण दलका नेता योगराज ढकाललाई आममाफी दिएपछि यसको राष्ट्रिय स्तरमा विरोध भइरहेको छ। तरुण दलका नेता रिगलले नेपालगञ्जमा चेतन मानन्धरलाई दिउँसै लखेटीलखेटी खुँडा हानेर मारेका थिए।