images
images

श्रम सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीको निर्देशन

२७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गन्तव्य मुलुकसँग भएको श्रम सम्झौतालाई तत्काल पुनरावलोकन गर्न निर्देशन दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

सोमबारदेखि विभिन्न १३ मुलुकका कूटनीतिक नियोगका प्रमुखहरू तथा श्रम र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित उच्चस्तरीय छलफल भइरहेको छ । छलफलमा प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयलाई पनि श्रम सम्झौता पुनरावलोकनको कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । उनले भने, ‘हामीले नेपालीको हकहितलाई ध्यानमा राखेर वैदेशिक मुलुकसँग गरेका श्रम सम्झौतालाई पुनरावलोकन गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतहरूले तत्काल प्राथमिकतामा राखी कार्य गर्नुपर्छ ।’

सरकारले संस्थागत रूपमा रोजगारीका लागि एक सय ११ वटा देश खुला गरेको छ । त्यस्तै, व्यक्तिगत रूपमा जानका लागि एक सय ७० देशमा खुला छ । सरकारले हालसम्म ११ वटा मुलुकसँग श्रम सम्झौता गरेको छ । सरकारले सन् २००५ मा कतारसँग द्विपक्षीय सम्झौता गरेको थियो भने सन् २००७ मा संयुक्त अरब इमिरेट्स (युएई) र कोरियासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । सन् २००८ मा बहराइन, २००९ मा जापान र सन् २०१५ मा इजरायलसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सन् २०१७ मा भने जोर्डनसँग द्विपक्षीय सम्झौता गरेको छ । त्यस्तै, मलेसियासँग सन् २०१८ र मौरिसससँग सन् २०१९ मा समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । २०२१ मा बेलायतसँग श्रम सम्झौता गरेको हो ।

कतार, युएई, बहराइनसँग श्रम सम्झौता गरेको १६ वर्षभन्दा बढी भइसकेको छ । यो अवधिमा नेपाल र गन्तव्य मुलुकका धेरै प्रक्रिया परिवर्तन भइसकेका छन् । तर, नेपालले भने श्रम सम्झौता पुनरावलोकन गरेको छैन । श्रम सम्झौता पुनरावलोकन नहुँदा नेपाली श्रमिकले समयअनुसारको सेवा–सुविधा पाउन सकेका छैनन् ।
त्यस्तै, प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवालाई सूचना प्रविधिमा आधारित बनाउन निर्देशन दिएका छन् । ‘मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ नै, आर्थिक कूटनीतिलाई पर्याप्त ध्यान दिनुपर्छ । मुलुकको समृद्धिमा योगदान हुने गरी बाह्य लगानी अभिवृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत यहाँहरूले पर्याप्त ध्यान दिनुहुनेछ,’ उनले राजदूतहरूलाई सम्बोधन गर्दै भने ।

images
images
हुलाकी पत्र
images
SKIP THIS