
१९ साउन । भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिएर सबै इमानदार भएमा राजस्वले लक्ष्य भेट्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताएका हुन् । उनले आयात कम भएमा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र यस्तो अवस्थामा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रणबाहिरको कुरा भएको बताए ।
भन्सारको प्रक्रिया झन्झटिलो हुँदा व्यवसायीले वैकल्पिक बाटोबाट सामान आयात गरिरहेको उनले बताए । ‘यहाँ हामी अनावश्यक झन्झट दिन्छौँ, जायज कुरालाई पनि यो भएन भन्छौँ, अरूखाले माग गरिराख्यौँ भने यो झन्झट व्यहोर्नुभन्दा व्यवसायीले जोखिम मोलेरै भए पनि अर्को बाटो रोज्छौँ,’ उनले भने, ‘त्यो अवस्थामा प्रहरी प्रशासनको भूमिका रहन्छ ।’
सार्वजनिकभन्दा निजी लाभलाई माथि राख्दासमेत समस्या आएको उनको भनाइ छ । उनले भने, ‘आय स्रोतको ८० प्रतिशतभन्दा बढी राजस्वबाट प्राप्त हुन्छ । यो राजस्वबाट झन्डै आधा अर्थात् ४८ प्रतिशत भन्सारबाट उठाउनुपर्छ । भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगन्ज भन्सार कार्यालयबाट प्राप्त हुन्छ ।’ यस हिसाबले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने बुझ्नुपर्ने उनको भनाइ छ ।
‘राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ । सुक्खा बन्दगाहमा के भइरहेको छ ? वीरगन्ज भन्सार कार्यालयमा के भइरहेको छ ? सबैले हेरिरहेका हुन्छन् । त्यहाँ त लक्ष्य प्राप्ति भएको छैन, हामीलाई मात्रै भन्ने ? वीरगन्जमा हुनुप¥यो नि, सुक्खा बन्दगाहमा हुनुप¥यो ? भनेर तपाईंहरूलाई भन्नेछन्,’ मन्त्री डा. महतले भने, ‘त्यसकारण तपाईंहरू सजक रहनुहोस् ।’