
२३ साउन । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा ‘बटम लोडिङ’ सुरु गरिएको छ । ट्यांकरको तल्लो भागमा पाइपको सहायताले इन्धन भर्ने प्रणालीले चुहावट नियन्त्रण र लोड–अनलोड कार्य छरितो हुने आयल निगमले जनाएको छ ।इन्डियन आयल कर्पोरेसनले बिहारको मोतीहारी (वीरगन्जबाट करिब ४० किलोमिटर टाढा) डिपोबाट बटम लोडिङ प्रणाली सुरु गरेपछि निगमले पनि करारमा राखेका ट्यांकरबाट सोही प्रणाली सुरु गरेको हो ।
मोतीहारीबाट पेट्रोल लिएर सोमबार बिहान निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट आएका दुईवटा ट्यांकरबाट यो प्रणालीको सुरुवात कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सुरुवात गरेका छन् । तर, अहिले थोरै ट्यांकरबाट मात्र बटम लोडिङ थालिएको कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । ‘सुरक्षित इन्धन ढुवानीका लागि बटम लोडिङ सुरु गरेका हौँ ।
सुरुवातमा थोरै संख्याका ट्यांकरमा यो प्रणाली जडान हुनेछ,’ उनले भने, ‘बिस्तारै सबै ट्यांकरमा यो प्रणाली विस्तार गरिनेछ ।’ बटम लोडिङका लागि थप एउटा ट्यांकर आइओसीको मोतीहारी डिपोमा रहेको र चाँडै तेल भरेर आउने निगमको थानकोट डिपो प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए ।
यो नयाँ प्रणालीबाट तेल ढुवानी कार्यको संयोजन गर्न निगमका तर्फबाट मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख विनीतमणि उपाध्याय खटिएका थिए । उनका अनुसार जयश्री आयल डिस्ट्रिब्युटर्ससँग करारमा लिएका ट्यांकरलाई ‘रेट्रोफिट’ गरी बटम लोडिङका लागि योग्य बनाइएको हो ।
बटम लोडिङका कारण ट्यांकरमा इन्धन लोड–अनलोड गर्दा हुने चुहावट शून्यमा झर्ने उपाध्यायले बताए । ‘ट्यांकरमा तेल हाल्दा वा खन्याउँदा उडेर हुने नोक्सानी शून्यमा झर्नेछ,’ निगम निर्देशकसमेत रहेका उपाध्यायले भने, ‘तेल लोड गर्दा माथिल्लो भागमा जम्मा हुने बाफलाई समेत उड्न नदिई ट्यांकरभित्रै राख्ने प्रविधि बटम लोडिङमा उपलब्ध छ ।’