
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाँडाबजार क्षेत्रको साँघुरो सडकलाई फराकिलो बनाउने कार्य सुरु गरिएको छ ।
सडकको चौडाहा साँघुरो हुँदा पछिल्लो समय सवारी साधन आवातजावतमा समस्या देखिन थालेपछि ५ नं. वडा कार्यालयको अगुवाई सडक फराकिलो बनाउने कार्य सुरु गरिएको हो । डाँडाबजार चोक देखि डाँडाबजार खेल मैदानसम्मको करिव डेढ किलोमिटर सडकको चौडाहा फराकिलो पारिने वडाध्यक्ष खड्ग लिम्बूले बताए । अहिले सडकको चौडाहा ५ मिटर पनि छैन । अव उक्त सडकलाई फराकिलो बनाएर चौडाहा ७ मिटरको बनाइने उनको भनाई छ ।
बजार क्षेत्रको सडक विस्तारको लागि गाउँपालिकाले जेसिवी उपलब्ध गराएको छ । वडाबाट २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सडक विस्तारको कार्य सुरु गर्नुअघि वडा कार्यालयको अगुवाईमा स्थानीय वासिन्दासँग छलफल गरिएको थियो । जसको कारण सडक विस्तारमा स्थानीय वासिन्दाबाट कुनै अवरोध नभएको वडाध्यक्ष लिम्बुले बताए । सडक विस्तारको क्रममा एउटा घर पूर्ण रुपमा र डाँडाबजारको सार्वजनिक शौचालय समेत भत्किने छ । त्यस्तै अधिकांश घरको अगाडि पट्टीको भाग भत्किनेछन् ।
धनकुटा सदरमुकाम देखि पूर्वी क्षेत्रमा पर्ने डाँडाबजार पुरानो बजार हो । विक्रम सम्वत् २०१० साल देखि वस्ती वस्न थालेको थियो । यो बजार क्षेत्रमा विक्रम सम्वत् २०४५ साल यता वस्तीकरण वढ्दो छ । अहिले बजार क्षेत्रमा २ सय ४५ वटा घरहरु रहेका छन् ।
डाँडा बजारको विच वस्तीमा सामुदायिक विद्यालय रहेको छ । भने खेल मैदान नजिकै प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा छ । बजार क्षेत्रको सडक साँघुरो हुँदा स्वास्थ्य चौकी सम्म एम्वुलेन्स आवतजावत गर्न समेत समस्या हुने गरेको थियो ।
डाँडाबजार भेडेटार रवि राके सडक खण्डमा पर्दछ ।