
धनकुटा । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर साँगुरीगढी गाउँपालिकाले वडा स्तरीय महिला समूहहरु वीच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ ।
गाउँपालिकाको सभाहलमा आयोजना भएको प्रतियोगितामा हरेक वडाबाट तीन सदस्यीय एक÷एक वटा महिला समूहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा वडा नं. ५ डाँडाबजारका मनिता राई, सानुमाया घर्ती र बिनु वस्तिको समूह प्रथम भएको थियो । त्यस्तै वडा नं. १ वुढिमोरङका बिमला लिम्बू, धुर्ब लिम्बु, सुशिला तामाङको समूह दोस्रो भएको थियो । वडा नं. ४ फाक्सिवका महिला समूह तेस्रो भएका थिए । उक्त समूहमा फुलु चेम्जोङ, तारा लिम्बू र सिर्जना लिम्बू सदस्य थिए । हाजिरी जवाफ प्रतियोगितामा वडा नं. २ वुढिमोरङका महिला समूहले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
प्रतियोगितामा हरेक समूहलाई १०÷१० वटा प्रश्न सोधिएको थियो । सवैभन्दा बढी उत्तर मिलाएर अंक प्राप्त गर्ने समूहलाई विजेता घोषणा गरिएको थियो ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले नगद १० हजार, दोस्रो हुनेले ८ हजार, तेस्रो हुनले ६ हजार र सान्त्वना हुनले ४ हजार सहित प्रमाण पत्र प्राप्त गरेका थिए । हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिका भरिका १० वडामध्ये १, २, ४, ५, ७ र ८ गरी ६ वटा वडाका समूह सहभागी भएका थिए । विजेता वन्न सफल समूहलाई कार्यक्रमको प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, विशेष अतिथि २ नं. वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक योगेन्द्र इवाहाङ, पाँचथरको तुम्मेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का लगायतले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईको अध्यक्षतामा र कार्यक्रमको संचालन महिला विकास निरीक्षक सृजना हिङमाङले गरेकी थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हरेक वर्ष विविध कार्यक्रमको आयोजना गरिन्दै आइरहेको साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले बताइन् ।