
धनकुटा । साँगुरीगढी गाउँपालिकाले आफ्नै गान र लोगो सार्वजनिक गरेको छ। गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसर पारेर आफ्नै गान र लोगो सार्वजनिक गरेको हो।
गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा र बजेटमा नै समावेश गरेर आफ्नै गान र लोगो निर्णय गरेको थियो । सार्वजनिक गरेको गान र लोगोले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्काएको बताइएको छ।
खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको र सोही बमोजिम आएका गान र लोगो छनौट गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
गान र लोगो सार्वजनिक भएसँगै गाउँपालिका मातहतका हरेक कार्यक्रममा राष्ट्रिय गानपछि गाउँपालिकाको गान गाउने र एउटै पत्रमा नेपाल सरकारको लोगो रहने गरी अर्को छेउमा साँगुरीगढी गाउँपालिकाको लोगो रहने अध्यक्ष राईले बताए ।
स्थापना दिवसको अवसरमा गान र लोगो सार्वजनिक गर्दै गानका रचनाकार नन्दु राई र लोगो डिजाइनकर्ता मुकुन्द प्रयासलाई कर सहित जनही नगद ५० हजारले सम्मान गरेको छ। यस्तै गानका गायक कृष्णभक्त राई, जुनी राई, राजशुक्र लिम्बू, बसन्त राई, महेन्द्र घिमिरे, टिका घिमिरे, पद्मिनी राई र सुनिता सुब्बालाई कर बाहेक जनही १० हजार रुपैयाले सम्मान गरेको छ।
गाउँपालिकाको गान र लोगो सार्वजनिक गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई कोशी प्रदेश सरकार निरन्तर चल्ने बताए । उनले काठमाडाैंको हावाले कोशी प्रदेश सरकारलाई कुनै असर नगर्ने बताउँदै केन्द्रको निर्देशन अनुरुप सरकार नबनेको बताउँदै केन्द्रको आदेशले सरकार परिवर्तन नहुने बताए ।
मन्त्री राईले केन्द्रको आदेशमा चल्ने भए संघीयताको भावना अनुसार नहुने भएकाले संघीयताको मर्म अनुसार सञ्चालन हुन प्रदेश र स्थानीय तह सरकार एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उपाध्यक्ष मुना राई र संचालन योजना अधिकृत दोर्ण राईले गरेका थिए । कार्यक्रममा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले नृत्य प्रस्तुत गरेका थिए ।