धनकुटा । धनकुटा नगरपालिका वडा नं. १० मार्गास्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत चार जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै सोही अवसरमा एक जना शिक्षकलाई पुरस्कृत समेत गरिएको छ ।
विद्यालयको नवनिर्मित २ कोठे भवनको उद्घाटन कार्यक्रमको अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङले विद्यार्थीहरुलाई छात्रवृत्ति तथा शिक्षकलाई पुरस्कृत गरेका हुन् ।
विद्यालयमा स्थापना गरिएको मुक्तिनाथ दिनानाथ सुवेदी अक्षयकोषबाट आधारभूत तह अन्र्तगत २०७९ मा कक्षा ८ बाट उत्कृष्ट अंक ल्याउने छात्रा रोष्टिका दर्नाली र रिदम राईलाई छात्रवृत्ति स्वरुप नगद रु ३/३ हजार र प्रमाण पत्र प्रदान गरिएको थियो ।
आधारभूत तहमा उत्कृष्ट हुने दुई जना विद्यार्थीहरुलाई हरेक वर्ष प्रोत्साहन स्वरुप पुरस्कृत गरिन्दै आइरहेको मुक्तिनाथ दिनानाथ सुवेदी छात्रवृत्ति अक्षयकोषका संरक्षक तथा शिक्षक ईश्वरी सुवेदीले बताए ।
त्यस्तै दलबहार तारादेवी श्रेष्ठ अक्षयकोषबाट शैक्षिक सत्र २०७९ मा आधारभूत तह अन्र्तगत कक्षा ७ मा उत्कृष्ट अंक ल्याउने निशा दर्लामी मगर र कक्षा ८ का छात्र दुर्गाबहादुर दलार्मी मगरलाई छात्रवृत्ति स्वरुप नगद १५००/१५०० का दरले प्रदान गरिएको थियो ।
सोही अवसरमा विद्यालयमा स्थापना गरिएको अक्षयकोषको २० प्रतिशत रकमबाट उत्कृष्ट शिक्षकको रुपमा कल्पना राईलाई नगद ३ हजार र प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले विद्यालयको नवनिर्मित २ कोठे भवन उद्घाटन समेत गरेका थिए ।








