
जापान । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजनमा एनआरएनए क्षेत्रीय समितिहरुको आयोजनामा एकै दिन जापानभर रक्तदान कार्यक्रम हुने भएको छ ।
आगामी २०८१ वैशाख २ गते आइतवार अर्थात अप्रिल १४ तारिखमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएनए नागोया क्षेत्रीय समिति उपसंयोजक तथा नागोया रक्तदान कार्यक्रम संयोजक योमन देवानले बताए । उनले रक्तदान कार्यक्रममा सहभागी हुन जापानमा वसोवास गर्ने नेपालीहरुलाई अपिल समेत गरेका छन् ।
पछिल्लो समय जापानमा २ लाख नेपालीहरुकाे वसोवास रहेकाे छ । एनआरएनएले थुप्रै सामाजिक, साँस्कृतिक एवं रचनात्मक कार्यहरू गर्दै जापानिज समुदायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए ।
विगत झै यस बर्ष पनि रक्तदान कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागी हुने विश्वास रहेको एनआरएनए नागोयाका संयोजक भेषनाथ गौतमको भनाई छ ।