
सुमना तिम्सिना । धनकुटा
आदिम कालदेखि हिन्दु संस्कृति, परम्परा, मुल्यमान्यता अनुसार समाजिक रुपमा मनाउँदै आएको हरितालिका तीज हाल आएर अधिकांस नेपाली महिलाहरुले मनाउदै आएका छन् र कोभिड १९ पश्चात् केहि फरक, परिस्कृत र पृथक तरिकाले मनाउने गरेको पाईन्छ । यसको सामाजिक पक्षलाई हेर्ने हो भने चेली माइति, विभिन्न संघसंस्था, आमा समूह, टोलबस्ती, विद्यालयहरु, सहकारी संस्था आदिले आयोजना गरेर आ–आफ्नो गक्ष अनुसार महिला तथा पुरुष सदस्यहरु बीचमा पारिवारिक रुपमा मनाइदै आएको छ । तर, आजकाल भने अलिक ठूला–ठूला शहरहरुमा विभिन्न महंगो होटलहरुमा महंगा कपडा, गरगहना लगाएर खानेकुराका परिकार खाएर अझ भन्ने हो भने पेय पदार्थ खाएर महिनौ दिन सम्म अर्काको देखासिकी गरेका फोटो–भिडियोहरु सामाजिक सञ्जालहरुमा असरल्ल देख्न पाइन्छ । सामाजिक पिडाबोध कम गर्ने, मनको भाव, बह आफ्ना बाबुआमासंग पोखेर मन हलुका बनाउने मनोबैज्ञानिक तथा मनोसामाजिक उपचारात्मक प्रकिृति बोकेको तीज लाई पृथक शैलिले मनाउदै जाँदा आधुनिक समाजप्रति बिभिन्न पत्रपत्रिका तथा सामाजिक संजालहरुमा तीज भड्किलो भयो भन्ने गुनासो आइरहेको छ । त्यसैले तीजलाई समय अनुसार परिष्कृत बनाएर मौलिकता हराउन नदिइकन संस्कार र संस्कृती जोगाउनु पर्ने चुनौति बर्तमान महिला पुस्तालाई रहेकोछ ।
तीज हिन्दु महिलाहरुको मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ ।यस पर्वमा खास गरी शिव भगवानको आराधना, पुजा–अर्चना गरिन्छ । पौराणिक कथा अनुसार सत्य युगमा हिमालयपर्वतकि छोरी पार्वतीले महादेव पति पाउँ भनि निराहार ब्रत बसेपछि महादेब पति पाएको किम्बदन्ती छ । सोही अनुसार अहिलेको समयसम्म पनि हिन्दु विवाहित नारीहरुले श्रीमानको सुस्वाथ्य एवं दिर्घायूको कामनाका साथ ब्रत बसेको पाईन्छ भने अविवाहित महिलाहरुले असल श्रीमान् पाउन सकौं भन्ने धार्मिक तथा पौराणिक आस्थाको आधारमा ब्रत बस्ने गरको पाइन्छ ।
तीज पर्व आफैमा एकदमै रमाइलो पर्व हो । उहिले बर्खाभरी धान, कोदो रोपेर, मकै थन्क्याए पछि एक प्रकारले फुर्सद समय भएपछि एक दुई दिन भए पनि माईत गएर मिठो परिकारहरु (दर) खानका लागि चेलीको घरमा लिन गएर चेली माइती आउने, माइतीमा साथीसंगी भेटघाट गर्ने, घर ब्यबहारका अनेक दुखसुख पोख्ने, मन भुलाउन भेटघाट गर्नेपर्वका रुपमा मनाईन्थ्यो । यसरी तीज मनाउने महिलाहरुले सौभाग्यको प्रतिक रातो सारी, रातो चुरा तथा गरगहना लगाएर दुख–सुखका तीजका गितमा नाचेर रमाइलो गर्ने प्रचलन बसेको छ ।
तीजको दरखाने दिन समयअनुसारका फलफुल, दुग्धजन्य पदार्थबाट बनेका परिकार (दर) बनाएर आफ्ना चेलीबटीहरुलाई माइतिले खुवाउने चलन रहदै आएको छ । तीजको ब्रत बस्ने अघिल्लो दिन घाम अस्ताउनु भन्दा अगावै खाना खाने र राती उज्यालो हुन भन्दा अगावै उठेर दर खाने र भोलीपल्ट दिनभर श्रीमानको दीर्घायुको लागि निराहार ब्रत बस्ने प्रचलन रहिआएकोछ । सकेसम्म २४ घण्टासम्म केही नखाई विवाहित महिला ब्रत बस्ने चलन छ भने अविवाहित महिलाहरु असल श्रीमान् पाईन्छ भन्ने विश्वासका साथ यसरी नै निराहार ब्रत बस्ने चलन चलेको छ ।
पर्वका अवसरमा गरिने गायन तथा नृत्यहरुले विकृति तथा अश्लिलता ल्यायो भन्ने कुराहरुपनि उठिरहेका छन् । चाडपर्वका नाममा पहिरनहरु संस्कारी भएनन्, धनि र गरिब वीचको खाडल झन बढ्यो भन्ने कुराहरु बौद्धिक, सचेत बर्गहरुमा परेको छ भने अर्को तर्फ सामाजिक संजालहरुमा तीजसंग सम्वन्धित बिषयहरुमा ब्यङ्गात्मक पोष्ट भएका देखिन्छन् । यस विषयमा सामाजशास्त्री निर्मला ढकाल भन्नुहुन्छ “तीज पर्वले महिला सशक्तिकरणमा ठूलो भूमिका खेलेको छ । यस पर्वले अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसले कतिलाई रोजगारी मिलेको छ । कतिको क्याट्रिन चेलेको छ, कतिको व्यूटी पार्लर तथा शैलुन चलेको छ, कतिको कपडाको व्यवसाय चलेको छ, कति महिलाहरु अगाडि आएर नाचेर गायर बोलेर आफूलाई सशक्त बनाएका छन् ।” अझ यस बिषयलाई प्रस्ट्याउदै उहाँ तर्क गर्नुहुन्छ कि आफ्नो कमाइ अनुसारको खर्च गर्दा अरुले खासै टाउको दुखाउनु पर्दैन । यो महिलाहरुको स्वतन्त्रताको कुरा पनि हो तर समाजमा पच्ने खालको परिदृष्य चाहि हुन पर्दछ । अन्य बिभिन्न समाजशास्त्रीहरुको बिश्लेशणलाई आधार मान्ने हो भने पनि तीज पर्वले गर्दा महिलाहरुको स्व–पहिचान उच्च हुन थालेको छ । कहिल्यै पनि सामाजिक रुपमा अघि बढ्न नरुचाउने महिलाहरु पनि तीजको बेलामा दिलै खोलेर सामाजिक कार्यहरु गर्न रुचाउने, साथीसंङ्गिसंग बसेर भलाकुसारी गर्ने र केहि क्षणकोलागि भएपनि पिडा भुलेर नयाँपनको अनुभुति लिने गरेको पाइन्छ ।
बर्तमान समयमा परापुर्व समयका महिला भन्दा वढी कामकाजी महिलाहरु छन् । मेरो ब्यक्तिगत अनुभुतिमा पनि बल्लतल्ल एक दिन विदा हुन्छ, माइत गएर तीज मनाउन समय नै पुग्दैन । कति महिलाहरु विदेशमा छन् माइत आउन सम्भव छ त ? जहाँ छन् त्यहाँ आफ्ना आफन्तसंग आफ्नो कमाइ अनुसार खर्च गर्न तथा श्रीमान्को कमाइको केहि रकम खर्च गर्ने निर्णय लिन सक्नु पनि महिलामा सक्षमता बढेको मान्न सकिन्छ । यसै पर्वको अवसर पारेर देश–विदेशका बिभिन्न रंगमञ्चहरुमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको माग बढेको छ । यसरी कलाकारहरुले गीत तथा नृत्यहरुको मार्फतबाट सामाजिक पिडाबोध, महिलाका दर्दनाक कथा, पारिवारिक पिडा, श्रीमान तथा अन्य पुरुषका महिलाप्रतिको बुझाई, सामाजिक बिकृति र खुशी भएर जिउने कलाहरु पस्केका छन् । यस गहन् बिषयलाई सकारात्मक पाटोबाट हेर्ने हो भने कसैको प्रत्यक्ष रोजगारी, कसैको आर्थिक उपार्जन र कसैको मनोचिकित्कको रुपमा तीज पर्वलाई बुझ्नु जरुरी छ ।
आजको २१ औं शताब्दी, ज्ञान–विज्ञानको चमत्कार, विश्वको बदलिंदो परिवेशमा पनि हिन्दु महिलाहरु माइत गएर वा नगई श्रीमान, हुनेवाला श्रीमानको दीर्घायुको कामना गर्दै तजिलाई मनाउदै आइरहेका छन् । समयको परिवर्तनसंगै केही कृयाकलाप परिमार्जित भएका छन् भने केही कृयाकलापहरु भड्किलो भएको छन् भन्ने कुरा समाजमा उठ्नु स्वभाविक छ । महिलाहरुको दुख–सुख पोख्ने स्थल माईतिमा चेली–माईति भेट हुने, साथीहरुसंग रमाउने, पतिको दिर्घायुको लागि ब्रत बस्ने जस्ता कार्य हुने गरेको यो चाडमा अहिले आएर फेसनेवला लुगा, गरगहना प्रर्दशन गर्ने होडवाजी बढ्न थालेको छ । यसले गर्दा हुनेखाने वर्गका महिलाहरु र हुँदाखाने वर्गका महिलाहरु वीच खाडल बनेको प्रस्ट देख्निन्छ । यसै सम्दर्भमा महिलावादीहरु भन्छन् धनी र गरिब विचको खाल्डो महिलाले तीज नमनाउँदा चाहीँ पुरिन्छ त ? यो त संसारकै समस्या हो नि । महिलाहरु २ दिन रमाउँदा खुशी हुँदा संधै प्रश्न र वर्गमा जोडिदिएको गुनासो समेत गरेको पाइन्छ । हुन त कतिपय महिलाहरुले भन्ने गर्छन् पुरुषहरुले लगाएको लुगा र दैनिक जस्तो महंगो होटलमा बसेर खाएर गरेको खर्च चाँही नदेख्ने समाज महिलाहरुले एक वर्षमा तीजको अवसरमा साथी–संगी भेला भएर खाएको, रमाईलो गरेकोमा औला उठाउने ? समाजमा महिलाहरुले के कति कुरामा विभेद सहनु पर्ने? भन्ने जस्ता बिचारहरु पनि नउठेका हैनन् । तर त्यसलाई समायानुकुल परिमार्जन गरेर तीजको मौलिकता हराउन दिन नहुने कुरामा हामी महिला सजग हुनु पर्ने देखिन्छ ।
दुग्घजन्य पदार्थको परिकार (दर) खाएर मनाउने गरिएको यो पर्व अहिले आएर दरको नाममा धुम्रपान, मद्यपान, अन्य परिकारहरु प्रयोग गर्न थालिएका प्रति प्रबुद्ध महिला बर्गले बेलैमा सचेत हुनुपर्दछ । यस्ता गलत प्रबृतिले गर्दा चाडवाड खर्चिलो र भड्किलोसँगै मौलिकता पनि धरापमा पर्न थालेको छ । अहिले त सामाजिक संजालहरुले गर्दा सबैतिरको कृयाकलाप तुरुन्तै हेर्न पाइने भएकाले एकआपसमा देखासिकी गर्ने हुनाले अझ भड्किलो हुने र संकृतिको जगेर्ना नभई विकृति पो फैलिने हुने हो कि भन्ने खतरा बढेको छ । यसलाई यथासक्य खर्चिलो र भड्किलो हुनबाट जोगिएर तीज मनाउनु पर्ने देखिन्छ ।
तीजमा महिलाबादी दृष्टिकोणले हेर्दा श्रीमतीले श्रीमानको दीर्घायुको लागि ब्रत बस्छन् भने के श्रीमानले चाँहि श्रीमतीको दीर्घायुको लागि ब्रत बस्नु पर्दैन ? यो नियम सनातन देखि हालसम्म किन बनाएनन् त ? समानताको हक खोई ?आज पनि पत्नीहरु पतिको दीर्घायुको लागि ब्रत बस्ने, ब्रत बसेको दिन श्रीमानको गोडाको पानी खाने गर्दछन् । माया–प्रेम सद्भाव साटासाट गर्ने हो भने शिर निहुर्याएर खुट्टाको पानी खादा मात्र माया हुने हो र ? कतै यो दास मनोवृत्रि त हैन ? बरु माया बाड्ने–बढाउने अरु तरिका पनि त होलान् र त्यसतर्फ समाजको ध्यान जान जरुरी छ । यसलाई आजका महिलाहरुले बहसको विषय बनाएर महिला सशक्तिकरणको पाटो लाई जोड्नु पर्ने देखिन्छ । धर्म र परम्पराको नाममा हामी महिलाहरुले आफैलाई कमजोर नबनाउँ, रुपान्तरणतर्फ अघि बढौं । यसको अर्थ चाड पर्व नै नमनाउँ भन्न खोजेको पनि हैन । समयानुकुल परिवर्तन गर्दै मौलिकतालाई हराउन दिनु हुँदैन । आधुनिकतासँगै कतिपय कुराहरु परिमार्जित गर्दै लैजानु पर्ने देखिन्छ जसले गर्दा तीज भड्किलो पनि नहोस बिकृति पनि नआओस् ।
हरितालिका तीज २०८१ को सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना छ ।