धनकुटा । विपद् व्यवस्थापन समितिको बैठकले धनकुटा जिल्लाका स्थानीय तहहरूबाट भाद्र र असोजमा आएको भीषण बर्षाको कारण वाढी पहिरोबाट भएको क्षतिको विवरण प्रहरी सर्जिमिन गरी सिफारिस साथ आएकाले अनुमोदन गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ ।
धनकुटा जिल्लाका विभिन्न पालिकाहरुमा विगत बर्षहरुमा बर्षाका कारण पूर्ण रुपमा क्षति भएका घरहरुको निर्माणका लागी नेपाल सरकारबाट निकासा भएको रकम खर्च नभएर केहि समय अघि फिर्ता गएकोमा उक्त रकम पूनः माग गर्ने र धनकुटाका स्थानीय तहरुबाट सिफारिस भई आएका गतभाद्र र असोज महिनामा आएको बर्षा कारण क्षति भएका विवरणहरू अनुमोदन गर्ने लगायत विभिन्न निर्णयहरु गर्दै धनकुटा जिल्लाको विपद् व्यवस्थान समितिको बैठक सम्पन्न भएको हो ।
यसैगरी धनकुटा जिल्लामा डढेलो तथा आगजनी लगायतका घट्नाहरु हुन नदिनका लागी अहिले देखि नै सजग रहनका लागी पूर्वतयारी गर्ने लगायतका विभिन्न निर्णयहरु समेत भएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थपान समितिका अध्यक्ष टुवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पाख्रिवास नगरपालिका नगरप्रमुख ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख ध्र्रुवराज राय, छथरजोरपाटी गाउँपािलका अध्यक्ष छत्र सुब्बा, धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल लगायतका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले धनकुटा जिल्लामा डढेलो आगजनी, बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपबाट हुन सक्ने विपद्बाट बच्नका लागी पूर्वतयारी अहिलेदेखि नै गर्नु पर्ने वताए ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका नरेन्द्र पोखरेल, नेकपा माओवादी केन्द्र धनकुटाका कविता राई, राप्रपा धनकुटाका उपाध्यक्ष टिका प्रसाद घिमिरे, जसपा नेपाल धनकुटाका सचिव डम्वर कटुवाल, मंगोल नेशनल अगनाईजेशन धनकुटाका अध्यक्ष शेरबहादुर सिजाली, भीमदल गण सल्लेरी व्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरी, सशस्त्र प्रहरी बल छिन्ताङदेवी गुल्म धनकुटाका डिएसपी मदन नाथ, धनकुटा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख रुद्र गुर्वाछाने, जिल्ला वन कार्यालय धनकुटाका प्रमुख भरत श्रेष्ठ, धनकुटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा) नेपाल रेडक्रस सोसाइटी धनकुटाका सभापति कृष्ण श्रेष्ठ, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा, नेपाल पत्रकार महासंघ धनकुटाका कार्यवाहक अध्यक्ष विदुर खवासलगायतले विपद्बाट बच्नका लागी पूर्वतयारी गर्न सवै जना अहिले देखि नै आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।
उक्त बैठकमा धनकुटा जिल्लाको धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका, सहिदभूमी गाउँपालिका र छथरजोरपाटी गाउँपालिका कार्यपालिका कार्यालयका विपद्का फोकल पर्सनहरु र सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो । बैठकको सहजीकरण धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले गरेका थिए ।








