images
images

अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमा फुड फेस्टिवल सुरु, कोशी प्रदेश पर्यटन मन्त्रीबाट समुद्घाटन

धनकुटा । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा फुड फेस्टिवल सुरु भएको छ । एक कार्यक्रमका विच कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले फेस्टिवलको उद्घाटन गरे । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मण्डलले भेडेटार फुड फेस्टिवलले पूर्व क्षेत्रको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा सुरु भएको फेस्टिवलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरुको ३० भन्दा बढी स्टल राखिएको छ । फेस्टिवल अवधिभर ५० हजार आन्तरिक तथा वाह्रय पर्यटक आउने र २ करोड रुपैयाभन्दा बढी कारोवार हुने आयोजकको अनुमान छ ।

फेस्टिवलका लागि बजार क्षेत्रमा आर्कषक सजावट गरिएको छ । तीन दिनसम्म आयोजना हुने महोत्सवमा आउने आगन्तुकलाई सडकमा खाने र सडकमा रमाउने संगै भिन्नभिन्न टुर प्याकेजको व्यवस्था गरिएको छ । आन्तरिक र बाह्य पर्यटकहरुलाई भेडेटारका होटलमा विशेष छुटको व्यवस्था गरिएको छ ।

आन्तरिक तथा वाह्रय पर्यटकलाई साँगुरीगढी गाउँपालिका भरिका ऐतिहाँसिक साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका स्थान घुमाउने योजना छ ।

एशोसिएशनका अध्यक्ष तुमराज लिम्बूको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वअर्थराज्य मन्त्री तथा प्रदेश सभा सदस्य निरन राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, नेकपा एमाले धनकुटा सचिवालय सदस्य वलबहादुर राई लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन होटल एशोसिएशनका निवर्तमान अध्यक्ष लिलाराज लावती र स्वागत मन्तव्य एशोसिएशनका कोशी प्रदेश सचिव समेत रहेका होटल एशोसिएशन भेडेटारका सचिव रमेश श्रेष्ठले राखेका थिए । फेस्टिवलको मुख्य सहयोगी साँगुरीगढी गाउँपालिका सहयोगी संस्थामा जिल्लाका स्थानीय तह लगायत विभिन्न संघसंस्थाहरु रहेका छन् ।

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS