
धनकुटा । १२ औं भेडेटार फुड फेस्टिवलको अवसरमा साँगुरीगढी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय कृषि मेला प्रदर्शनी ५३ जना किसान पुरस्कृत भएका छन् । उनीहरुले उत्पादन गरेको कृषिजन्य वस्तुको मुल्याङ्कनको आधारमा नगद सहित पुरस्कृत भएका हुन् ।
फेस्टिवलको समापनको दिन आयोजित कार्यक्रममा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतले उत्कृष्ट किसानहरुलाई नगद सहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले किसानलाई कृषि उत्पादनमा प्रोत्साहन होस् भन्ने उद्देश्यले हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजना गरिन्दै आइरहेको बताए ।
प्रदर्शनीमा गाउँपालिका भरिका किसानले उत्पादन गरेको कृषि वाली समावेश गरिएको छ । यो वर्ष कृषि उत्पादन सहित २ सय भन्दा वढी किसान प्रदर्शनीमा सहभागी भएको कृषि शाखा प्रमुख राजिवकुमार पाख्रिनले बताए । किसानको कृषिजन्य उत्पादनलाई खाद्यान्न बाली, नगदे/औद्योगिक बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली र विविध वालीमा समूह विभाजन गरिएको थियो । प्रत्येक वाली समूहतर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना बापत नगद सहित प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख पाख्रिनले बताए ।