
धनकुटा । धनकुटा जिल्ला अस्पतालबाट डायलासिस सेवा, शल्यक्रिया सेवा लगायत अन्य महत्वपूर्ण थप स्वास्थ्य सेवाहरू प्रदान गर्ने अस्पताल व्यवस्थापन समितिको सम्पन्न बैठकले निर्णय गरेको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा धनकुटा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले धनकुटा जिल्ला अस्पतालबाट थप सेवा विस्तार गर्न र गुणस्तरीय सेवा प्रदान गर्न धनकुटा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले धनकुटा जिल्ला अस्पतालमा उपलब्ध स्रोत साधनलाई अत्याधिक प्रयोग गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठले स्थानीय तह र सामाजिक सङ्घसंस्थाहरू र नागरिकहरूले धनकुटा अस्पतालको थप सेवा विस्तार गर्न सहयोग गर्ने बताए ।
धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले धनकुटा अस्पतालबाट पूर्वी पहाड जिल्लाकै नमुनाको रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष राईले धनकुटा अस्पतालको थप सेवा विस्तार र अस्पतालको अवस्थाको बारेमा प्रस्तुत गरेका थिए । डा. अमित शाहले धनकुटा अस्पतालबाट अहिले भइरहेको सेवाको बारेमा जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति छत्र श्रेष्ठले रक्त सन्चार सेवा बारे जानकारी गराएका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरी, धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्यहरू अम्विकादेवी धमला, श्रीराम रायमाझी, धनकुटा जिल्ला समन्वय समितिका कर्मचारी खगेन्द्र चौलागाईँ, धनकुटा जिल्ला अस्पतालका नर्स शिला राई लगायतले धनकुटा अस्पतालबाट थप सेवा विस्तार गर्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
धनकुटा अस्पतालबाट आगामी दिनमा डायलासिस सेवा, शल्यक्रिया सेवा लगायत अत्यावश्यक स्वास्थ्य सेवाहरू प्रभावकारी रुपमा विस्तार निर्णय गरिएको छ । सो अवसरमा कोशी प्रदेश सरकारबाट धनकुटा जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्यमा मनोनित भएका अम्बिकादेवी धमला र श्रीराम रायमाझीलाई धनकुटा जिल्ला समन्वय समितिका प्रमुख तथा धनकुटा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङ, धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राई लगायतले स्वागत गरेका थिए । सो अवसरमा कार्यकाल पूरा गरेका समिति सदस्य गोविन्द निरौलालाई बिदाई गरिएको थियो ।