धनकुटा । धनकुटा नगरपालिका वडा नं. २ को भीरगाउँमा नेपाली किसान महासंघको वडा अधिवेशन तथा अग्रजहरूलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राईले अधिवेशनको उद्घाटन गर्दै कृषि क्षेत्रको विकास नभए मुलुकको समग्र विकास नहुने र नेपालको किसानहरूको जीवनस्तर उकास्न नसके मुलुकमा समृद्धि हुन नसक्ने वताए । नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. २ का वडासभापति राजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको नेपाल किसान महासंघको अधिवेशनमा नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिलकुमार राई, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति अभिषेक कर्माचार्य, धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका नेता मञ्जु कार्की, नेपाल तरुण दल भीरगाउँका अध्यक्ष हर्क राई लगायतले शुभ कामना व्यक्त गर्दै नेपाल कृषि प्रधान देश भएकाले नयाँ ढंगबाट कृषि क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिँदै नेपाली कांग्रेसले विशेष अभियानका साथ कृषि क्षेत्रको विकासमा लागी परेको वताए ।
नेपाल किसान महासंघको वडा अधिवेशनले अध्यक्षमा प्रेमबहादुर खड्का, उपाध्यक्षमा कमलबहादुर राई, सचिवमा संगिता कार्की र सदस्यहरूमा अर्जुन राई, बुनुमाया राई, निर्मला वस्नेत, सुजन राई र देवेन्द्र राईलाई चयन गरेको नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राईले बताए । सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजयसन्तोषी राई लगायतले धनकुटा भीरगाउँका अग्रज तथा ज्येष्ठ अभिभावकहरू रणकुमारी भट्टराई, अप्सरा भट्टराई, लोकबहादुर भट्टराई, हस्तमाया राई, कृतिमान भट्टराई, मानबहादुर भट्टराई, कृष्ण खड्का, हमेन्द्र खड्का लगायतलाई खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राईले नेपाल किसान महासंघको विधान र झण्डा नवनिर्वाचित वडा सभापति प्रेम खड्कालाई प्रदान गरेका थिए ।









