धनकुटा । छथरजोरपाटी गाउँपालिका वडा नं ३ तांखुवास्थित सरस्वती माध्यमिक विद्यालयको ५२ औं वार्षिक उत्सवको अवसरमा आयोजित श्री नयाँघरे सुब्बा पुरुन्ध्वज हाङभरा स्मृति शिक्षा फुटबल रनिङ कप २०८१ जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी राजारानीको पुण्य माध्यमिक विद्यालयले जितेको छ ।
आइतवार सम्पन्न फाइनल खेलमा डाँडाबजारको भानु माध्यमिक विद्यालयलाई ३-१ गोलअन्तरले पराजित गर्दै पुण्य माविले उपाधी जितेको हो । उपाधीसँगै पुण्य माविले नगद पुरस्कार ४० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता वनेकाे डाँडाबजारको भानु माविले नगद २० हजार रुपैयासहित ट्रफी र मेडलमा चित्त वुझायाे ।
फाइनल खेलमा पुण्य माविको तर्फबाट यलिस गजमेरले दुई गोल र प्रतीक मगरले एक गोल गरेका थिए । फाइनलमा उत्कृष्ट प्रदर्शन सहित दुई गोल गरेका यलिस गजमेर म्यान अफ द म्याच घोषित भएका थिए।
गतफागुन ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो । पाँचदिन सम्म संचालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।
विधागत पुरस्कारतर्फ विजेता पुण्य माविका खेलाडीहरुको वर्चश्व रह्यो । पुण्य माविका सुरेन्द्र लिम्वू सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै विजेता टिमका धिरज विश्वकर्मा उत्कृष्ट डिफेन्डर, मनिस लिम्बू उत्कृष्ट गोलकिपर घोषित भएका थिए । त्यस्तै प्रतियोगिताभर सर्वाधिक चार गोल गर्दै उपविजेता टिम भानु माविका अनिस लिम्बू सर्वाधिक गोलकर्ता घोषित भए ।







